१० वर्षयता अवकाश पाएका सुरक्षाकर्मी र पूर्वम्यादीलाई सिधै भर्ना हुने व्यवस्था


सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिएका छन् । निर्वाचन सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय गरेको छ।

‘उनीहरुलाई खटाउँदा तालिम दिइरहनु नपर्ने भएको हो । भर्ना गरेर सिधै ड्युटीमा पठाउँने तयारी छ । २०७४ को निर्वाचनका म्यादीलाई पनि बोलाइने भएको हो । ‘जतिसक्दो कम नयाँ म्यादी भर्ना गर्ने लक्ष्यअनुसार योजना बनाउन निर्देशन दिइएको छ।

१० वर्षयता अवकाश पाएका र निर्वाचनमा खटिन तयार रहेका कति जनशक्ति छन्, उनीहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी सुरु गरेका छन्। नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सुरक्षा सेल गठन गरेर योजना बनाइरहेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए।

यस्तै, गृह मन्त्रालयको निर्देशनअनुसार १० वर्ष भित्रमा अवकाश भएका प्रहरी र २०७४ को निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीलाई पनि सम्पर्क गरेर विवरण संकलन गर्न सुरु गरेको छ। सबै जिल्लालाई यस्तो विवरण संकलन गर्न निर्देशन दिइसकेको प्रवक्ता केसीले बताए।

गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी सुरु गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते देशभर एकैसाथ निर्वाचन गर्ने निर्णय गरेको थियो।