माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने


नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

बैठक बिहान ११ बजेदेखि सुरु हुने माओवादी सचिवालयले जनाएको छ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो । पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो । माओवादीमा यविबेला प्रचण्डको निकै आलोचना भएको छ ।

एमसीसीका विषयमा प्रचण्डले दोहोरो भूमिका खेलेको भन्दै आलोचना भएको हो । बैठकमा एमसीसी, पाटी पदाधिकारीको टुंगो र आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल केन्द्रित हुने माओवादी सचिवालयले जनाएको छ ।