गठबन्धनले निर्वाचनमा सबैलाई फाइदा हुने प्रचण्डको भनाई


नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । नेता कोइराला प्रचण्डलाई भेट्न बिहीबार बिहान खुमलटारस्थित उनको निवास पुगेका थिए । कोइराला–दाहालबीच समसामयिक राजनीतिक विषयहरूमा करिब डेढ घण्टा कुराकानी भएको हो ।

भेटमा पछिल्ला राजनीतिक घटनाक्रमहरू अमेरिकाको मिलेनियम च्यालेन्ज एमसीसी सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको नेता डा. अमरेशकुमार सिंहले जानकारी दिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।

‘अहिलेको सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन पनि गरौँ भनेर छलफल भइरहेको छ, हामीहरूबीच गठबन्धन गर्दा सबैलाई फाइदा छ । तपाईं निर्णय गर्ने ठाउँमा हुनुहुन्न । तर, निर्णय प्रभावित गर्ने ठाउँमा हुनुहुन्छ,’ दाहालले भनेका थिए, ‘गठबन्धन गरौँ । तपाईंले चुनावी गठबन्धनको विरोध नगरिदिनुस् ।’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्दा अहिलेको सरकार पनि बच्ने तथा संविधान र लोकतन्त्रको रक्षाका निमित्त समेत गठबन्धनले आफ्नो उदेश्यबमोजिम काम गर्न सक्ने बताएका थिए ।

जवाफमा नेता कोइरालाले भने गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुने बताएका थिए । ‘सरकारमा गठबन्धन छँदैछ, आगामी सरकारमा पनि गठबन्धन गर्न सकिन्छ,’ कोइरालाले भनेका थिए, ‘तर, अहिले निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो । कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन् । बरु एमालेतिरै लाग्छन् । त्यसैले गठबन्धन गर्दा तपाईंलाई र कांग्रेस दुवैलाई फाइदा छैन ।’

नेता कोइरालाले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए । ‘एमसीसीबारे तपाईंको धारणा प्रष्ट हुनुपर्‍यो । सरकारमा बसेर यसलाई गिजोल्नुभएन ।

यसले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्छ,’ कोइरालाले भनेका थिए, ‘कम्तिमा एमसीसीलाई संसदमा टेबल गराउनुस् । त्यसपछि त्यहाँ छलफल हुन्छ र त्यसलाई पास गराएर अघि बढ्न सहज हुन्छ । संसद्‌मा टेबल गर्न नै अवरोध गर्ने कुरा राम्रो होइन ।’

अध्यक्ष दाहालले भने निर्वाचनअघि एमसीसी पास गर्न नसकिने बताएका थिए । ‘एमसीसीबारे हामी छलफलमै छौँ । तर, निर्वाचनअघि एमसीसी पास गर्न सकिँदैन । मैले प्रधानमन्त्रीजीसँग अनुरोध गरिरहेको छु, यसलाई अझै समय लिएर छलफल गरेरमात्रै टुंगोमा पुर्‍याउन सकिन्छ,’ दाहाललाई उदृत गर्दै छलफलमा सहभागी नेता सिंहले भने, ‘चुनावअघि एमसीसी पास गराउन असहज छ ।’

भेटमा नेता कोइरालाले सत्ता गठबन्धन र सरकारले संसद् सञ्चालनका लागि पहल लिनुपर्ने बताएका थिए । ‘धेरै समयदेखि संसद् अवरुद्व भएको छ । यसले कसैलाई पनि फाइदा गरेको छैन, गठबन्धन र सरकारले यसबारे पहल लिनुपर्‍यो, संसद् खुलाउनुपर्‍यो, संसद्‌मा जनताका समस्या र सवालहरूमाथि छलफल हुनुपर्‍यो,’ कोइरालाले भनेका थिए ।

भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए । कोइरालाले हिजो मात्रै एमााले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।