तुलसीपुरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु


दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको जलेर ज्यान गएको छ ।
चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

रातीदेखि आगो लागेर केही कम कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको प्रहरीले जनाएको छ । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ ।

आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ ।

आगलागी बिहान २ बजेदेखि सुरु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने पूर्ण आइसकेको छैन ।