एमसीसीबारे निर्णय लिन प्रचण्ड–ओली फोन सम्वाद


सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भनेका छन्, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’

ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४\५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ, ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ुअहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा एमालेले त निर्णय गरिहाल्छ ।’

माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने मत बलियो छ भने एमालेले सरकार निर्णयमा पुगेपछि आफ्नो धारणा बनाउने अडानमा छ । तर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी पास गर्ने निष्कर्षमा पुगिसकेको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी पास गर्नेगरी अगाडि बढेको अवस्था छ ।

हिजो मात्र अमेरिकी सहायक मन्त्री लुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र ओलीलाई एकलाएक्लै फोन गरी एमसीसी जस्तो छ जस्तो छ त्यही पास गर्नुस्, नभए यसलाई हामीले गीभर रूपमा लिनेछौँ भनेका छन्। फोनमा लुले भनेका पहिलो, तपाइँहरूले एस वा नोमा छिट्टै निर्णय गर्नुस्, दोस्रो, हामी संशोधन गर्दैनौं भनेर स्पष्ट पारेका हुन ।

तेस्रो, समय थप गर्दैनौं भन्दै यसलाई लिनुभएन भने त्यो तपाईंहरूको कुरा हो, तर हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं भनेका छन् । यो चीनको कारणले यस्तो भयो भन्ने ठान्छौं । भन्ने अमेरिकी अधिकारीको बुझाई छ । नेपालमा भने बृद्धादेखि युवा र बालकसम्मले एमसीसी सहयोग परियोजना लिन नहुने भन्दै सडक आन्दोलन गरीनै रहेका छन् ।