रक्षा सचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका प्रधान सेनापति प्रशुराम शर्माले शुक्रबार बिहान एक हजार क्षमताको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । सो निर्माणाधिन होल्डिङ सेन्टर निरीक्षण गरेका हुन । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । सो कन्स्ट्रक्सनका साइट इन्चार्ज लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यही फागुन मसान्तभित्र सम्पन्न गरी सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जानकारी सचिव र प्रधानसेनापति शर्मालाई गराएका थिए ।
सेनाको नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निर्माणको काम हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले पारदर्शी ढंगले सो सेन्टरको बाँकी काम छिट्टै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
उता, कन्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले प्रधान सेनापति शर्मा, रक्षा सचिव किरणराज शर्मासहितको टोलीको निरीक्षण पछि सो सेन्टरको बाँकी पनि छिट्टै पूरा हुने बताए । उनले सो सेन्टरका लागि खानेपानी र सडकको व्यवस्थापनको कामलाई पनि छिट्टै पूरा हुने गरी अघि बढाइएको बताए ।
२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले फाल्गुन मसान्त सम्म होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्ने जनाएको छ । तीन बिगाहा क्षेत्रफलमा निर्माण भईरहेको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग निर्माण भएका छन् । निर्माण भएका सबै ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ ।