फागुनदेखि ब्याजदर बढाउने बैंकको तयारी


बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउने भएका छन्। यसअघि ब्याजदर तोक्नुअघि बैंकर्स सँघले ब्याजदर कति तोक्ने भन्ने सहमति गर्दै आएकोमा फागुनदेखि भने अब बैंकहरुलाई नै स्वेच्छिक रुपमा ब्याजदर बढाउन अथवा घटाउन छुट दिएको छ।

तर धेरै बैंकहरु तरलता अभावका कारण ब्याजदर बढाउने पक्षमा देखिएका छन्। लामो समयदेखि तरलता समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न पनि ब्याजदर बढाउने तयारी थालेका हुन।

शुक्रबार बसेको बैंकर्स एसोसिएसनको बैठकले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। उनका अनुसार बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउनेछन्। बैंकले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउने गरी निर्णय भएको छ, उनले भने घटाउनेले घटाउन पाए र बढाउनेले बढाउन पाए।

वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए। तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन।

गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए। केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ्ग सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ। फागुनदेखि धेरै बैंकहरु मुद्दतीको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याउने तयारीमा छन्।