आज मेगा अक्सन हुँदैछ


१५ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटका लागि आज शनिबार मेगा अक्सन हुँदैछ । बैंगलोरमा दुई दिन हुने मेगा अक्सनमा कुल ५ सय ९० खेलाडी रहने छन् जसमध्ये २ सय २० खेलाडी विदेशी रहेको छ।

मेगा अक्सनमा नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । अक्सनबाट सन्दीपलाई कुनै पनि टिमले भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु अर्थात ६४ लाख नेपाली तिर्नुपर्ने हुन्छ।

नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएका थिए । तर, अन्तिममा सन्दीप मात्र परेका हुन् । यसअघि सन्दीपले दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् । त्यसैले यस पटक समेत सन्दीप एक टिममा अनुबन्धित हुने अनुमान गरिएको छ ।

यस पटकको प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । यस अघि ८ टोलीले खेल्दै आएका थिए । यस पटक लखनउ सुपर जाइन्टस र गुजरात टाइन्टस नयाँ टोलीको रुपमा छन् ।

नयाँ संस्करणको आईपीएल मार्च अन्तिम साताबाट हुने बताईएको छ। क्रिकेटसम्बन्धि वेबसाइट क्रिकइन्फोले आईपीएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाएको छ । प्रतियोगिता मे अन्तिमसम्म चल्ने बताईएको छ ।