महाअभियोग दर्ताको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिए प्रधानन्यायाधीश जबरा


प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले संसदमा महाअभियोग लागेको पत्र बुझेका छन् । सर्वोच्च काय कक्षमै पत्र बुझेलगत्तै जवरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।

जबरालाई विदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म आएका थिए । जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।

प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।

जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । जबराको प्रस्ताव ससदमा छलपपल भई दुई तिहाई बहुमतबाट पारित भएमा उनको पूर्ण रुपमा अभियोग प्रमाणित हुने छ । यदि छलफल पश्चात दुई तिहाई बहुमत पुग्न नसकेमा जवराले फेरी आफ्रनो कार्यभार। सम्हाल्ने छन् ।