प्रभु साहले रौतहटमा मनाए २७ औं जनयुद्ध दिवस


तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन जनयुद्ध दिवस मनाउने गरिन्छ । शिषेशत माओवादीले यस दिनलाई २०५२ साल फाुगन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा जनयुद्ध दिवस मनाउने गर्दछ ।

२७ औं जनयुद्ध दिवसको अवसरमा ज्ञात अज्ञात महान शहीदहरुप्रति उच्च सम्मान र वेपत्ताहरुको छिट्टै पहिचान होस भन्दै पूर्व माओवादी नेता तथा एमाले नेता प्रभु साहले वीर योद्धाहरुलाई स्मरण गरेका छन् ।

यस ऐतिहासिक दिनको विशेष अवसरमा रौतहट जिल्लाका प्रथम शहीद मनरूप महतोको पत्नी तथा फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतोको अगुआईमा आयोजित शहीद मनरुप महतो स्मृति भवन र “शहीद मनरुप स्मृति पार्कको एक समारोहका साथ उद्घाटन गरेका हुन ।

हजारौंको जनसहभागितामा शहीद परिवारहरुलाई विशेष सम्मान समेत गरिएको हो । यस ऐतिहासिक महान कार्यबाटै मुलुकमा राजनीतिक परिवर्तन आएको भन्दै नेता साहले आम नागरिकहरु अहिले पनि आफ्नो अधिकारका लागि लडाई जारी नै राख्नु पर्ने बताएका छन् ।

उनले अझै पनि आम नागरिकले मुक्ति पाई नसकेको भन्दै आन्दोलनमा गोलबद्ध हुन सबै सचेत नागरिकमा आग्रह गरेका छन् । देश र जनताको सर्वोपरि हितको रक्षा एवम् विकास मार्फत मुलुकमा स्थायित्व, सुशासन, समानता, समृद्धि एवं विकास सहित वैज्ञानिक समाजवादको मजबूत आधारस्तम्भ निर्माणको महाअभियानमा दृढतातापूर्वक अगाडि बढ्न सबैमा आग्रह गरेका छन् ।

मधेशमा विकासप्रेमी युवा नेताको रुपमा पहिचान बनाएका साह १० वर्षे माओवादी जनयुद्धमा विभिन्न मोर्चाको नेतृत्व समेत गरेका थिए । जनयुद्धको क्रममै पटक–पटक जेलमा समेत बस्नु परेको थियो ।

माओवादी शान्तिप्रक्रियामा आएपछिका सबै निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट भारी मतका साथ विजयी हुने गरेका साहले आफ्नो क्षेत्रमा रातदिन खटि सबै राजनीतिक दल र जनसमुदायलाई साथमा लिई विकासको मुल नै फुटाएको स्थानीयहरुको भनाई छ । साहले सफा खानेपानी, प्राविधिक शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चारका साथै सडक र ढलको सञ्जाल नै विकास गरी कार्यपलट गरेका छन् ।

साह माओवादी केन्द्र परित्याग गरी अहिले नेकपा एमालेमा क्रियाशील छन् । माओवादी पार्टीबाट एमालेमा प्रवेश गरेका साहसहित तत्कालिन माओवादी केन्द्रका सांसद् लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, रामबहादुर थापालगायतका संघीय संसदका सदस्य, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीले कारबाही गरी पद रिक्त गरेको थियो ।

केही स्थानीय तहका जनप्रतिनिधिको कारबाही अदालतले बदर गरेपछि काममा फर्केका थिए । जनताको समस्या र विकासलाई आत्मसाथ गर्ने विकास प्रेमी नेताको छवि बनाएका नेता साहले जनयुद्ध दिवसलाई भव्यताका साथ मनाएका हुन ।