एमालेले तत्काल न्यायधिशका विरुद्धमा महाभियोग नल्याउने


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख र सर्वोच्चका न्यायाधीशविरुद्ध कुनै काउन्टर महाभियोग नल्याउने स्पस्ट पारेको छ। आज बसेको एमाले संसदीय दलको बैठकले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निर्णय लिने निर्णय गरेको हो।

बैठक पछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख र न्यायाधीशहरूलाई महाभियोग लगाउने या न लगाउने बारेमा आवश्यक निर्णय लिने अधिकार उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि एमाले संसदीय दलको बैठक बसेको हो। भट्टराइले संचारकर्मीहरूसँग भने, ‘एमालेले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर समाचारहरू आए, यो पूर्वअनुमान मात्रै थियो।

वस्तुस्थितिको ठोस अध्ययन गरेर ठोस निर्णय आओस् भन्ने सुझाव सांसदहरूले दिनुभएको छ। एमालेले एमसिसीबारे पहिले सत्तापक्षकै धारणा आउनुपर्ने पुरानै अडान कायम राखेको भट्टराइले बताए।