नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो ।
काँग्रेस संसदीय दलको बैठकमा विज्ञ अर्थशास्त्रीको रुपमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत समेत सहभागी भएका हुन । महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता संसदबाट पास नगरे राष्ट्रघात हुने जिकिर गरेका छन् ।
काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने स्पष्ट सुझाव दिएका थिए । काँग्रेसले सांसद नभएपनि पूर्वअर्थमन्त्री महतलाई बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि आमन्त्रण गरिएको थियो ।
महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए । ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ । एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’, उनले भने, ‘यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन ।’
उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिएका हुन । ‘यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्छ । अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन’, उनले बैठकमा भने, ‘संसदको यही अधिवेशनले पारित गर्नुपर्छ । फागुन १६ भित्र पारित गरिसक्नुपर्छ ।’
उनले काँग्रेसले सन् २०१९ मै पास गर्न खोजेको पनि सम्भव नभएको भन्दै अब भने ढिला गर्न नहुने दोहो¥याए । ‘यत्रो समय अमेरिकाले सहुलियत दियो । अब कुनै हालतमा पारित गर्नुपर्छ’, उनको भनाइ थियो, ‘एमसीसी नेपालको गरिबी र बेरोजगारी घटाउन सहयोगी बन्छ ।
अहिले आयात बढ्दो र निर्यात घट्दो क्रममा हुँदा व्यापार घाटा थेगिनसक्नु छ’, उनले भने, ‘एमसीसी पास गराएर प्रशासरण लाइनमार्फत विद्युत निर्यात गर्न सक्छौँ । आयात र निर्यात सन्तुलन मिलाउन पनि एमसीसी सहयोगी बन्छ ।
यस्तै महतले एमसीसीको चीनसँग कुनै साइनो नभएको पनि जिकिर गरे । नेपालले बीआरआई स्वीकार गर्न हुँदा एमसीसी स्वीकार गर्न सकिने उनको भनाइ छ । ‘हामी कुनै देशको पक्ष र विपक्षमा होइन । हामीले बिआरआई स्वीकारेको सन्दर्भमा एमसीसीको अस्वीकार गर्नुको अर्थ छैन ।’
उनले काँग्रेससहित सबै दलहरु एक ठाउँमा भएर एमसीसी स्वीकार गर्दा कुनै राष्ट्रघात नहुने स्पष्ट गरे । डा. महतले बैठकमा एक घण्टा लामो एमसीसीको बारेमा ब्याख्या गरेका थिए ।