उपत्यकाका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति, बन्दको प्रभाव आंशिक


काठमाडौं, फागुन ०४। सरकारले काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा सुरक्षा सतर्कता बढाएको छ। अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा ६ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो।

बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन। यद्यपि सवारीसाधन भने अघिल्लो दिनको तुलनामा केही कम चलेका छन्। बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएका छन् । काठमाडौं उपत्यकाका मुख्य मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्।

बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो । यसैबीच काठमाडौं उपत्यकाबाट प्रहरीले करिब २ दर्जन बन्दकर्ता पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरका अनुसार बन्द गराउँदै हिँडेका उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।