सकियो बालुवाटारमा बसेको गठबन्धन बैठक, ८ गते फेरि बस्ने


काठमाडौं, फागुन ०६। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन। बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि ८ गते बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए। ‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ।

पर्सि फेरि छलफल गरौं भन्यौं,’ नेपालले भने,‘प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो।’ आजको बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन्। गठबन्धनका अरू तीन दलका शीर्ष नेताले भने आजै बिहान बैठक गरी अहिले एमसिसी संसदमा पेस गर्न नसकिने बताएका थिए।