ए डिभिजन लिग : आज दुई खेल हुँदै


काठमाडौं, फागुन ०८। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा भिड्दैछन्। जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ। आज हिमालयनलाई हराएर अंक तालिका सुधार्ने लक्ष्यमा जावलाखेल हुनेछ।

यस्तै हिमालयन ११ खेलबाट १३ अंक जोडेर नवौं स्थानमा छ। उसको लक्ष्य पनि अंक तालिका सुधार नै हुनेछ। आजै दिउँसो हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा अपराह्न पौने ५ बजे सुरु हुनेछ। मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ। उ एनआरटीलाई पराजित गरेर दोस्रो स्थानमा बलियो रहने लक्ष्यमा रहँदा १७ अंकसहित पाँचौं स्थानमा रहेको एनआरटी पनि मनाङलाई पराजित गरेर दोस्रो स्थानमा उक्लिने लक्ष्यमा हुनेछ।