एलसीमा शत प्रतिशत मार्जिन, भन्सार राजस्व संकलन लक्ष्य प्रभावित


काठमाडौं, फागुन ०९। नेपाल राष्ट्र बैंकले आयात घटाउन गरेको नीतिगत व्यवस्थाले भन्सार राजस्व संकलन लक्ष्य प्रभावित बनेको छ । भन्सार विभागका अनुसार अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा बढी तथा लक्ष्यको नजिकै पुग्दै आएको भन्सार राजस्व संकलन माघ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँले प्रभावित बनेको हो ।

नेपाल राष्ट्र बैंकले निरन्तर बढिरहेको आयातलाई निरूत्साहित गर्न एलसी खोल्दा शत प्रतिशत बैंक मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । आयात बढ्दा विदेशी विनिमय दरमा दबाब परेपछि त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले दुई चरणमा गरेर ४७ वटा ‘एचएस कोड’ अन्तर्गत आउने वस्तुको आयातमा शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । जसको सिधा प्रभाव राजस्व संकलनमा परेको हो ।

नेपाल सरकारले प्रत्येक वर्षको बजेट ल्याउँदा भन्सार आयातबाट उठ्ने राजस्वलाई प्रमुख स्रोत मान्ने गरेको छ । चालु आर्थिक वर्षमा पनि भन्सार शुल्कमार्फत ठूलो स्रोत जोहो गर्ने दाउमा अर्थमन्त्री जनार्दन शर्मा छन् । सोहीअनुसार राजस्व संकलन वृद्धि गर्न अर्थमन्त्री शर्माले पटक–पटक कर्मचारीहरूलाई निर्देशन दिँदै आएका छन् ।यसअघिका महिनामा भन्सार विभागले लक्ष्यअनुसारकै राजस्व संकलन गर्दै आएको प्रवक्ता पुन्यविक्रम खड्काले बताए ।

‘पुस महिनामा थोरैले लक्ष्य पूरा भएन । त्यसबाहेकका सबै महिनामा लक्ष्य पूरा गर्दै आएका थियौं,’ उनले भने, ‘माघ महिनामा त ठूलो रकम अपुग देखियो ।’ विभागले माघ महिनामा हुने वस्तु आयातबाट ४२ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको आन्तरिक लक्ष्य लिएको थियो । तर, माघ महिनाभरमा जम्मा ३७ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा ५ अर्ब ६८ करोड कम हो । खासगरी, केन्द्रीय बैंकले नीतिगत कडाई गर्दा आयातसँगै राजस्व संकलन प्रभावित विभागको विश्लेषण छ ।

माघमा कुन भन्सारबाट कति संकलन ?