मतदाता परिचय पत्र हराएमा वडामा निवेदन दिनुपर्ने


निर्वाचन आयोगको नयाँ निर्णयअनुसार चुनावको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। सरकारले स्थानीय तहको चुनाव एकै चरणमा अर्थात्‌ २०७९ सालको वैशाख ३० गते गर्ने घोषणा गरिसकेको छ।

निर्वाचनका लागि आवश्यक तयारीमा जुटिसकेको आयोगले दल दर्ताका लागि हालै आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने लगायतका काम भइरहेको छ।

कति मतदाता हुन्छन् ?
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन कार्य हाललाई स्थगित गरिएको छ। तर १६ वर्ष पुगेर नागरिकता बनाएका प्रत्येक नागरिकको नाम मतदाता नामावलीमा प्रविष्ट भएकाले तीमध्ये १८ वर्ष पूरा भइसकेका सबैले यसपालि मतदान गर्न पाउने आयोगले जनाएको छ।

वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले त्यसको भोलिपल्ट हुने चुनावमा मतदान गर्ने व्यवस्था मिलाइएको छ, अर्यालले बीबीसीसँग भने। त्यसरी मतदान गर्न योग्य अथवा मतदानको अवसर पाउनेहरूको सङ्ख्या दुई लाख हुने अनुमान छ।

सङ्घीय व्यवस्था तीन तहको सरकार भएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए। आयोगले २०७७ पौष ५ गते गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार एक करोड ६२ लाख ४३ हजार ११० जना १८ वर्ष पुगेका मतदाता छन्।

यसपालि अघिल्लो चुनावको तुलनामा ४० लाख बढी अर्थात्‌ एक करोड ७९ लाख मतदाता हुने आयोगको अनुमान छ। ूहामीले अद्यावधिक गरिरहेका छौँ। चैत १० गतेदेखि १५ गतेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछौँ,आयोगका सहायक प्रवक्ता अर्यालले भने।

मतदाता परिचयपत्र प्रकाशन
कुल ७५३ स्थानीय तहमा हुने चुनावका लागि निर्वाचन आयोगले देशभरि १० हजार ७५६ वटा मतदान स्थल तोकेको छ। मतदानका लागि मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र देखाउनुपर्ने अधिकारीहरूले बताएका छन्।

तर मतदाता परिचयपत्र हराएका वा नष्ट भएका कतिपयले चाहिँ चिन्ता व्यक्त गर्दै आएका छन्। सहायक प्रवक्ता अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन्।

यदि हराएको मतदाता परिचयपत्रको फोटोकपी छ भने त्यो लिएर अथवा छैन भने आयोगको वेबसाइटबाट आफ्नो परिचयपत्रको क्रम सङ्ख्या टिपेर वडा कार्यालयको सिफारिस लिई जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिन्छ,आयोगका सहायक प्रवक्ता अर्यालले थपे।

त्यसपछि जिल्ला कार्यालयले मुख्य कार्यालयलाई विवरण पठाउने र आयोगले नयाँ मतदाताका तथा हराएकाहरूको एकसाथ नामावली प्रकाशन गर्ने उनले बताए।

परिचयपत्र कहिले पाइन्छ ?
विद्यमान व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदात केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ। ूउहाँहरू पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाइएको हुन्छ,अर्यालले भने।

मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आफ्नो परिचयपत्र सजिलै लिन सक्ने उनले बताए। स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ।