रुसबाट पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता


रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसले युक्रेनको पूर्वी क्षेत्रस्थित विभाजनकारी समूहको बाहुल्य रहेका डेनोट्स्क र लुहान्स्कलाई अलग्गै राज्यको मान्यता दिएको हो।

रुसले यी दुई क्षेत्रमा युक्रेनलाई आक्रमण नगर्न चेतावनी पनि दिएको छ। आक्रमण भए नराम्रो नतिजा भोग्नपर्ने चेतावनी रुसले युक्रेनलाई दिएको हो। उक्त दुई क्षेत्रमा झन्डै ४० लाख मानिसको बसोवास छ।

अमेरिकाले भने रुसले ती दुई क्षेत्रलाई स्वतन्त्र मुलुकका रुपमा मान्यता दिएकोमा आपत्ति जनाएको छ। रुसको यो कदमलाई अमेरिकाले युक्रेनको सार्वभौमिकता र भौगोलिक एकताको उल्लंघन भनेको छ। उसले तत्कालै राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाउन माग पनि गरेको छ।

पश्चिमा मुलुकले पनि यसरी मान्यता दिनु मिन्स्क शान्ति सम्झौताको उल्लंघन भनेका छन्।

त्यस्तै रुसले आफूले राज्यको मान्यता दिएका दुई क्षेत्रमा शान्ति स्थापनार्थ भन्दै आफ्नो सेना खटाइने बताएको छ। जसप्रति विभिन्न मुलुकले विरोध जनाएका छन्।

बेलायतले अब छिट्टै रुसविरुद्ध प्रतिबन्ध घोषणा गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ। त्यस्तै अस्ट्रलियाका प्रधानमन्त्री स्कट मौरिसनले पनि रुसको यो कदम तर्कसंगत नभएको टिप्पणी गरेका छन्। ​

यसैबीच रुसले आफ्ना दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै युक्रेनले कडा जवाफ फर्काएको छ। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले उनले आफूहरुको प्रमुख माग रुसमाथि प्रतिबन्ध लगाउनु रहेको उल्लेख गरेका छन्।

‘म रुसको अवैध कदमको जवाफमा उसलाई कडा प्रतिबन्ध लगाउन माग गर्छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यसअघि टेलिभिजनमार्फत सन्देश दिँदै आफूहरुले वार्ता मात्रै होइन, अलि बढीको अपेक्षा गरेको बताएका छन्।

उनले भनेका छन्, ‘अब यो हेर्नु महत्वपूर्ण छ कि हाम्रो सच्चा सहयोगी मित्र को होरु र को रुसी संघको शब्दबाटै डराउँछन्रु’

अमेरिकाले पनि पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै आफ्ना कूटनीतिक अधिकारीलाई युक्रेनबाट पोल्यान्ड जान सुझाव दिएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुरक्षालाई ध्यानमा राख्दै उनीहरुलाई पोल्याण्डको लुभ्यो जान निर्देशन दिइएको बताएका हुन्। उनले पोल्यान्डमा जानु स्थायी नभएको पनि उल्लेख गरेका छन्।

अहिले पोल्यान्ड गए पनि उनीहरुले आफ्नो काम भने जारी राख्नेछन्। साथै आपतकालीन कन्सुलर सेवाका लागि उनीहरु नियमित रुपमा युक्रेन फर्किने छन्।

अमेरिकाका एक शीर्ष कूटनीतिक अधिकारीले युक्रेनप्रति अमेरिकाको प्रतिबद्धता केवल कुनै स्थान विशेष नरहेको बताएका छन्। यद्यपि अमेरिकाले यसअघि पनि आफ्ना कूटनीतिक अधिकारीको सुरक्षाका लागि विभिन्न कदम उठाउँदै आएको थियो।

अमेरिकाले फेब्रुअरीको सुरुवातमै रुसले युक्रेनविरुद्ध आक्रमण गर्न सक्ने बताएको थियो। यससँगै उसले युक्रेनमा रहेका सबै नागरिकलाई तत्काल मुलुक छाड्न निर्देशन दिएको थियो।

अमेरिकाका साथै बेलायत, अष्ट्रेलिया, क्यानडा र नेदरल्यान्ड्सले पनि आफ्ना नागरिकलाई सकेसम्म छिटो युक्रेन छाड्न निर्देशन दिएका थिए। यसअघि अमेरिकी दूतावासका कर्मचारी पनि युक्रेनको सुदूरपश्चिमस्थित पोल्यान्डको सीमानजिकै बस्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने क्रममा युक्रेनको आलोचना गरेका छन्। उनले युक्रेन अमेरिकाको उपनिवेश बनेको र त्यहाँ कठपुतली सरकार रहेको टिप्पणी गरेका हुन्। उनले युक्रने असल राष्ट्र भएको कुनै इतिहास नरहेको र आधुनिक युक्रेनको स्वरुप रुसले बनाइदिएको दाबी गरेका छन्।​

युक्रेनलाई अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल गर्ने विषयमा बोल्दै पुटिनले यो प्रत्यक्ष रुपमा रुसको राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्ने कार्य भएको बताएका छन्। उनले पश्चिमा मुलुकले रुसको सुरक्षा चुनौतीलाई पूर्ण रुपमा बेवास्ता गरेको आरोप लगाएका छन्।

यसअघि रुसले युक्रेनसँगको तनाव कम गर्न युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्नुपर्ने माग राखेको थियो। उक्त माग अमेरिकाले भने अस्वीकार गरेको थियो।

पुटिनले अहिले आफूहरुले स्वतन्त्र राज्यको मान्यता दिएको क्षेत्रको विद्रोहीको क्याम्पमा भइरहेको युक्रेनको आक्रमण बन्द गर्न पनि माग गरेका छन्। अन्यथा यसको परिणाम भोग्नुपर्ने उनको चेतावनी छ।

पुटिनले युक्रेनका उक्त दुई क्षेत्रलाई मान्यता दिएसँगै अब रुसी सेनाले यो क्षेत्रमा शान्ति स्थापनाको लागि काम गर्नेछन्। जानकारहरुका अनुसार रुसले आधिकारिकरुपमा नै युक्रेनको विद्रोहीको बाहुल्यता रहेको स्थानमा सेना परिचालन गर्न उक्त क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको हो।