श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर भोलि राष्ट्रिय नाचघरमा राखिने


काठमाडौं, फागुन ११। श्रद्धाञ्जली अर्पण गर्न गायक तथा कलाकार जयनन्द लामाको शव भोलि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ। कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन्। भोलि बिहान १० बजेदेखि १२ बजे सम्म श्रद्धाञ्जली दिइने उनले बताएकी छन्। निरौलाले गायक लामाको निधनप्रति शोक समेत व्यक्त गरेकी छन्। यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।प्रहरीका अनुसार लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो। प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।’राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।