टी–२० विश्व कपमा पुग्न असफल नेपाल र ओमानले आज तेस्रो स्थानका लागि खेल्दै


काठमाडौं, फागुन १२। टी–२० विश्व कपमा पुग्न असफल नेपालले आज तेस्रो स्थानका लागि खेल्दैछ। टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्न लागेका हुन् । खेल ओमानको घरेलु मैदान अलअमिरातमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।यसैवर्ष अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट भएका यूएई र आयरल्यान्डले आज ग्लोबल छनोटको उपाधिका लागि खेल्दैछन् ।यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले आईसीसीको टी–२० विश्व वरीयतामा ठूलाे फड्काे मारेका छन् । कुशल भुर्तेल ६५औँ स्थानबाट ३९औँ स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ कप्तान सन्दीप ६३औँ स्थानबाट ४३औँ स्थानमा उक्लिएका छन् । सन्दीपले दक्षिण अफ्रिका कागिसो रबाडा र अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलगायतलाई टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पछि पारेका छन् । टी–२० अन्तर्राष्ट्रिय वरीयतामा भने दुई स्थान तल झरेको नेपाल १५औँ स्थानमा छ ।