एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप


एमसीसीको विरोधमा बिहीबार पनि बानेश्वरमा क्षेत्र आपसपासमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरुले एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न किसिमका नारा लगाइरहेका छन् । प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा थप कडाइ गरिएको छ ।

एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बन्दोबस्तीका सामानसहित खटाइएको छ । धेरै ठूलो संख्यामा पहिलो घेरामा नेपाल प्रहरी र पछिल्लो घेरामा शसस्त्र प्रहरीले सुरक्षा दिएको छ ।

विभिन्न तहमा सुरक्षाकर्मीलाई खटाइएको छ । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।
संसद भवन भित्रभित्र पनि प्रहरी तैनाथ गरिएको छ ।

आइतबार संसद्‌मा एमसीसी सम्झौता पेस हुनुअघिदेखि नै सत्ता गठबन्धनमा रहेर पनि एमसीसीको विपक्षमा रहेका विभिन्न दलका भ्रातृ संगठनहरुले प्रदर्शन गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा, राप्रपालगायतका विभिन्न पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोलीसमेत चलाएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । आज प्रतिनिधिसभामा एमसीसीमाथि छलफल हुनेछ ।