प्रधानमन्त्रीको आग्रहमा संसद् बैठक स्थगित भोलीलाई आवहान


सभामुख अग्निप्रसाद सापकोटाले सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गर्नुपरेको बताएका छन् । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख सापकोटाले बैठक स्थगित गरेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफलका लागि समय मागेका कारण बैठक स्थगित गरिएको बताइएको छ। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरिएको जानकारी दिएका हुन ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरि सूचना टासेर स्थगित भएको हो । यसअघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल अघि बढाउने दलहरुबीच सहमति भएको थियो।

सरकारले फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबल गरेको छ।

प्रस्ताव तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेका थियो।

त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए।
अहिले सडकमा एमसीुसीको विरोधमा मानव सागरनै उत्रिएको छ ।