नेपालमा दलबीच एमसीसीको विवाद भएकै समयमा चीनको सक्रियता


अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेपालमा राजनीतिक संकट चुलिँदै गर्दा उत्तरी छिमेकी चीनले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरेको छ।

भर्चुअल माध्यमबाट दुवै नेतासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका दुई शीर्ष नेताहरुले बुधबार अलग–अलग भर्चुअल वार्ता गरेका हुन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले भर्चुअल वार्ता गरेका हुन्।

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष नेपाल र प्रमुख प्रतिपक्षी नेता ओलीसँग बुधवार भएको यो भिडियो वार्तामा चीनले गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन चाओले नेता नेपालसँगको कुराकानीका क्रममा एमसीसीका कारण नेपाली भूमिबाट चीनमाथि गम्भीर सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता जनाएका थिए।

अध्यक्ष नेपालनिकट स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले नेपाललाई निकट र घनिष्ठ मित्रका रुपमा व्यवहार गरेर त्यही अनुसार सहयोग पनि बढाइरहेको अवस्थामा सुरक्षा चुनौती बढाइदिने काम भएको गुनासो गरेका थिए।

नेपाललाई हामीले निकट र घनिष्ठ मित्रका रुपमा त्यही अनुसार अहिलेसम्म व्यवहार गर्दै आएका छौँ, भर्चुअल बैठकमा ती नेताको भनाइ उद्धृत गर्दै नेपालनिकट नेताले भने, तर अब नेपाली भूमिबाट हामीमाथि सुरक्षा चुनौती बढ्ने कुराले चिन्ता बढाएको छ। यसबारेमा तपाईंहरुले गम्भीरतापूर्वक सोच्नु आवश्यक भएको छ।

अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन हुन ढिला हुनुमा चीनको स्वार्थ रहेको अमेरिकाले आरोप लगाएका बेला यो संवाद भएको हो।

यसअघि चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै प्रतिरोध गर्नेसम्मको कडा प्रतिक्रिया दिएको नेपाल खवरले लेखेको छ ।