पासपोर्ट र भिसाविना नै एक व्यक्ति जहाजसम्म पुगेका घटनामा छानबिन गर्न समिति गठन


काठमाडौं, फागुन १३। गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमानमा पासपोर्ट र भिसाविना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज शुक्रवार एक विज्ञप्ति निकालेर कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमानमा पासपोर्ट र भिसाविना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

यस सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायका सम्बन्धमा अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । यस समितिले सात दिनभित्र प्रतिवेदन पेस गरिसक्नुपर्नेछ । यही फागुन ९ गते एक व्यक्ति पासपोर्ट र भिसा विना नै जहाजसम्म पुगेका थिए ।