रुसी सेना युक्रेनको राजधानी प्रवेश, युक्रेन एक्लै भिड्दै


काठमाडौं, फागुन १३। बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरे। त्यसलगत्तै रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्न थाले ।
सो आक्रमण अहिले पनि चलिरहेको छ। बिहीबारदेखि सुरु भएको यो युद्धबारे पछिल्लो समय हताहतीको विवरण पनि आउन थालेका छन्।

यद्यपि अहिले युद्ध जारी रहेकाले यस विषयमा सत्यतथ्य जानकारी भने आउन बाँकी छ। युक्रेनले बिहीबार आफ्ना नागरिक र सैनिकसहित १३७ जनाको मृत्यु भएको बताएको छ। साथै उसले ८ सय रुसी सैनिक मारिएको दाबी गरेको छ।

रुसले युक्रेनका सेनालाई आत्मसमर्पण गरेर घर फर्किन चेतावनी दिएको छ भने युक्रेनले आफू एक्लैले यो युद्ध जित्ने दाबी गर्दै आएको छ। यहाँ युद्ध सुरु भएयताका केही महत्वपूर्ण घटनाहरु भएका छन् ।
बिहीबार रुसले आक्रमण सुरु भएयता युक्रेनका धेरै स्थानमा विस्फोट गराइसकेको छ भने धेरै स्थानलाई आफ्नो कब्जामा पनि लिइसकेको छ।

रुसी सेनाले कब्जामा लिएकोमध्ये सबैभन्दा महत्वपूर्ण स्थान चेर्नाबिल आणविक भट्टी हो। यो रुसको लागि ठूलो उपलब्धि नभए पनि यसले युक्रेनको राजधानी सहर किभका लागि रुसको बाटो खुल्नेछ।

युक्रेनको राजधानी सहर किभमा पनि निरन्तर रुसले आक्रमण गरिरहेको छ। किभस्थित युक्रेनको सैन्य मुख्यालयमा पनि मिसाइल आक्रमण भएको छ।

युक्रेनको बोरिस्पिल विमानस्थलमा पनि रुसले मिसाइल आक्रमण गरेको छ भने यहाँ गोलाबारीको आवाज पनि सुनिएको थियो।

युक्रेनको उत्तरस्थित सेन्किभामा बेलारुसको सीमाबाट सैन्य ट्यांक आएका थिए। रुसको सीमा क्षेत्र नजिकैको सुमीमा पनि केही विस्फोटहरू सुनिएका छन् भने खर्किभमा रुसी सेनाले सीमा पार गरेका छन् र केही विस्फोटको आवाज पनि सुनिएको छ।

डीनिप्रोस्थित युक्रेनको सैन्य क्याम्पमा रुसले मिसाइल आक्रमण गरेको छ। कामातोस्रकमा मा विस्फोटका आवाजहरू सुनिँदा युक्रेनको नियन्त्रणमा रहेको सचास्त्य सहरमा रुसले कब्जा जमाएको छ।
लुहान्स्कमा युक्रेनले पाँच रुसी सेनाको विमान खसालेको दाबी गरेको छ। डेनेट्स्कमा पनि आक्रमणमा हताहती भएको छ।

क्रिमियानजिकैको क्षेत्रमा पनि मिसाइल आक्रमणमा केही मानिसको मृत्यु भएको छ। कार्खोभामा रुसले पावर प्लान्ट आफ्नो नियन्त्रणमा लिएको छ।

युक्रेनको जेमिनी टापुमा रुसी सेनाको प्रतिकार गर्ने गर्ने १३ युक्रेनी सेना मारिएका छन्। ओडेसामा पनि केही विस्फोट भएका छन्।

युक्रेनको दक्षिणतर्फ रहेको मोल्डोभा, इभानो फ्रान्किस्भर, लभिभमा पनि मिसाइल आक्रमण भएका छन्।

कति भयो क्षति ?
अहिले युद्ध जारी रहेको कारण अहिलेसम्म क्षतिको विस्तृत विवरण आइसकेको छैन। यद्यपि केही स्थानमा भएको क्षतिबारे भने थोरै जानकारी आउन थालेको छ।

युक्रेनको सानो टापु कालो सागरमा रुसी सेनाको प्रतिकार गर्ने १३ सैनिक मारिएका छन्। उनीहरुले प्रतिकार गर्दै गरेको अडियो निकै भाइरल भएको छ। जसको धेरैले प्रशंसा पनि गरेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि उनीहरुले प्रशंसा गरेका छन्। चेर्नोबिल परमाणु भट्टी नियन्त्रणमा लिने क्रममा रुसी सेनाले युक्रेनका सैनिकलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

युक्रेनले अहिलेसम्म १३७ जना सैनिक तथा सर्वसाधारणको मृत्यु भएको बताएको छ।

२८ लाख मानिसको बसोबास रहेको युक्रेनको राजधानी किभमा ठूलो संख्यामा मिसाइल आक्रमणहरू भइरहेको देखिएको छ भने केही भवनमा ठूलो आगलागी भएको देखिएको छ। यद्यपि अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन।

युक्रेनमा रुसले आक्रमण बढेसँगै करिब १ लाख मानिसहरु छिमेकी मुलुकतर्फ पलायन भएका छन्। पोल्याण्डले युक्रेनबाट आउने शरणार्थीहरुको लागि आवश्यक व्यवस्था गरिरहेको बताएको छ।

युक्रेनले आफ्नो मेट्रो स्टेसनहरू आक्रमणबाट बच्न आम नागरिकका लागि खुला गरेको छ। युक्रेनले रुसी सेना राजधानी किभतर्फ अघि बढेसँगै राजधानी प्रवेशको प्रमुख बाटोको रुपमा रहेका तीन पुलहरू उडाइदिएको छ। साथै उसले रुसी लडाकु विमान पनि खसालेको बताएको छ।

सिएनएनका अनुसार युक्रेनले ८ सय रुसी सेना मारिएको दाबी गरेको छ। साथै उसले ३० रुसी ट्यांक, ७ रुसी विमान र ६ ओटा हेलिकप्टर खसालेको दाबी गरेको छ।

एक्लै रुसको सामना गर्दै युक्रेन
युक्रेनमाथि समग्र विश्व समुदायले सहानुभूति देखाए पनि महत्वपूर्ण अवस्थामा भने युक्रेनले रुसको भयानक आक्रमणको एक्लै सामना गरिरहेको छ। शुक्रबार युक्रेनका राष्ट्रपतिले रुसी सेना राजधानीमा प्रवेश गरिसकेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना पनि गरेका छन्।

तर, अमेरिका, इयू तथा अन्य मुलुकले युक्रेनको युद्धमा सैन्य तथा रक्षा सहयोग भने गरेका छैनन्।

युक्रेनका राष्ट्रपतिले पनि युद्धको कठिन परिस्थितिमा आफ्नो सहयोग नगरेको भन्दै अमेरिकाको आलोचना गरेका छन्।

अमेरिकाले अबको ९६ घण्टामा किभ अब रुसको कब्जामा आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको छ। तर, उसले युक्रेनको सुरक्षामा अघि आउने विषयमा भने केही बोलेको छैन।

ईयूले युक्रेनलाई आर्थिक सहयोगसम्म दिने निर्णय गरे पनि रुसमाथि केही आर्थिक प्रतिबन्ध लगाउने बाहेकको केही कडा कदम चाल्न सकेको छैन। उसले रुसबाट आउने ग्यास तथा तेलमा पनि रोक लगाएको छैन।

युक्रेनमा आक्रमणपछि पुटिनले मोदी, खान र रैसीबीच फोन वार्ता

युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि लगातार सैन्य कारबाही गरेपछि सर्वत्र आलोचित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका छन् । त्यसका लागि उनले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग कुराकानी गरिरहेका छन् ।

पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आक्रमणको पहिलो दिन बिहीबार नै कुराकानी गरेका थिए । युरोप र अमेरिकाले रुसी कारबाहीको कडा आलोचना गर्दै विभिन्न प्रतिबन्धको घोषणा गरेका छन् । तर पुटिनले भने आफ्नो पक्षमा माहोल बनाउन संवादलाई तीव्रता दिएका छन् ।

बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीमा पुटिनले अमेरिका र नेटोले युक्रेनमा सैन्य उपस्थिति बढाएका कारण कारबाही अगाडि बढाएको बताएका छन् । रुसी राष्ट्रपतिको कार्यालयले पुटिनसँगको कुराकानीमा मोदीले युक्रेनमा रहेका भारतीय नागरिकको सुरक्षाको प्रत्याभुति खोजेका थिए । पुटिनको स्पष्टीकरणमा मोदीले सन्तोषजनक प्रतिक्रिया दिएको रुसी राष्ट्रपति कार्यालयले दाबी गरेको छ । पुटिनले युक्रेनमा रहेका भारतीयको सुरक्षाका लागि आवश्यक निर्देशन दिने प्रतिबद्धतासमेत जनाएका छन् ।

त्यस्तै पुटिनले यु्क्रेन मामिलामा इरानका राष्ट्रपति सय्यद इब्राहिम रैसीसँग पनि कुराकानी गरेका छन् । पुटिनले डोनबासका बासिन्दाको सुरक्षाका लागि विशेष सैन्य कारबाही थालिएको बताएका छन् ।

बिहीबार नै पुटिनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । मस्को भ्रमणमा रहेका खानसँग पुटिनले पछिल्लो क्षेत्रीय विषय र दक्षिण एसियाली राजनीतिका बारेमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै पुटिनले टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग पनि टेलिफोन कुराकानी गरेका छन् ।

रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् । एजेन्सीको सहयोगमा