‘ए’ डिभिजन लिग फुटबल आजबाट सकिँदै, लिगको अन्तिम दिन आज तीन खेल हुँदै


काठमाडौं, फागुन १४। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजबाट सकिँदै छ । प्रतियोगिताको अन्तिम दिन आज तीन खेल हुनेछन् । लिगको अन्तिम दिन दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक गरी तीन खेल हुनेछन् । मछिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेल च्याम्पियन मछिन्द्र र एपीएफ क्लबबीच दिउँसो ४ः३० बजे सुरु हुनेछ । मछिन्द्र ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यसैगरी, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब दिउँसो १ बजे भिड्नेछन् । एनआरटी २० अंक जोडेर चौंथो स्थानमा रहेको छ । पुलिस १२ अंक जोडेर ११ औं स्थानमा रहेको छ । सबै टोली आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छन् ।