प्रदेश १ को प्रदेश सभा बैठक आज


काठमाडौं, फागुन १५। साढे तीन महिनापछि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । संसद सचिवालयले सूचना जारी गर्दे बैठक बस्न लागेको जनाएको हो । बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मंसिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको थियो । वर्तमान सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि विधेयक दर्ता गराएको छैन । प्रदेशसभामा यसअघि नै दर्ता भएको अर्थ विधेयक र प्रतिष्ठान विधेयक विचाराधीन छ । दुई वटा विधेयकमा छलफल हुँदासम्म सञ्चार संस्था व्यवस्थापन गर्न बनेको विधेयक तयार गर्ने सरकारको तयारी छ ।