आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम सामान्य बद्ली


काठमाडौं, फागुन १५। आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम सामान्य बद्ली भएको छ । यी दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य केही प्रदेशका एक/दुई ठाउँको मौसम पनि आज आंशिक बद्ली हुने सम्भावना छ । तर, जाडोयामको अन्तिम अन्तिम भइसकेकाले अब पश्चिमी वायुको प्रभाव हट्दै जाने छ । भोलिदेखि देशका सबै ठाउँको मौसममा सुधार आउने अनुमान गरिएको छ ।

नेपालमा डिसेम्बरदेखि फेब्रुअरी अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । आज फागुन १५ गते हो । यस अनुसार हेर्दा भोलिदेखि हिउँदयाम सकिएको मानिनेछ । हिउँदयाम पछि बिस्तारै प्रि-मनसुनी गतिविधिहरु सुरु हुनेछन् । प्रि-मनसुनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने, हावाहुरी चल्ने हुन्छ । यसपालिको हिउँदमा औसतभन्दा बढी पानी परेको छ । केही दिनअघि पोखरामा परेको असिना पानीले तरकारीमा नोक्सानी गरे पनि समग्रमा यसपालिको हिउँदे वर्षाले कृषि क्षेत्रलाई फाइदा पुर्याउने कृषि विज्ञले बताएका छन् ।