अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति


काठमाडौं, फागुन १५। मोडल तथा अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । गत बुधबार मात्रै १७ वर्षीया एक बाल गायिकाले अभिनेता शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि अभिनेता शाह फरार थिए, भने आइतबार मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर उनले आत्मसमर्पण गरेका थिए ।

यसका साथै अभिनेता शाहविरुद्ध नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा अभिनेता पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।