बेलारूसको सीमामा रूस–युक्रेन वार्ता हुने


रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिन पछि दुई मुलुकका अधिकारीहरू वार्तामा बस्ने भएका छन् । समाचार संस्था एएफपीका अनुसार युक्रेन र रूसी अधिकारीबीच बेलारूसको सीमामा वार्ता हुँदैछ।

वार्ताका लागि युक्रेनी टोली बेलारूसको सीमामा पुगिसकेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट कुनै निकास निस्कने आफूलाई विश्वास नभएको भए पनि अधिकारीहरूलाई वार्ताका लागि अनुमति दिएका थिए।

न्युयोर्क टाइम्सका अनुसार वार्ताका क्रममा युक्रेनी पक्षले तत्काल युद्धविराम गरी रूसी सैनिक युक्रेनबाट फिर्ता हुनु पर्ने प्रस्ताव राख्नेछ।

वार्ताको तयारी भइरहँदा पनि रूसले युक्रेनमाथिको हमला जारी राखेको छ। यता रुसले वार्ता भएको स्थलमा सुरक्षित गर्ने र यो अवधीसम्म यस क्षेत्रमा कुनै आक्रमण नगर्ने संकेत दिएको छ । तर रुसले वार्ता भनिरहेपनि युक्रेनमाथि चौतर्फी हमला गरिरहेको छ ।