सैनामैना नगरपालिका कोभिडविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह


रुपन्देहीको सैनामैना नगरपाकिला १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाउने पहिलो स्थानिय तह बनेको दाबी गरेको छ । सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको हो ।

१२ वर्षमाथिका ७१ हजार ५१० जनसंख्या रहेको नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएका नगरपालिकाले जनाएको छ ।

नगरभित्रका ६७ हजार ५९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा तीन हजार ९१३ जना छुटेको पाइएपछि उनीहरुलाई खोप दिएपछि कोरोनाविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह बनेको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइदिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देही, विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले तीन वटा वडामा नमुना सर्वेक्षण गर्दा ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप लगाएको पाइएपछि १५ फागुनमा नगरपालिकाकाका ११ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।

जिल्ला खोप समन्वय समितिले सोमबार मात्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र दिएको छ ।