एमसीसी पास गर्न एमालेले पनि सघाएको कांग्रेसको दाबी


नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको दाबी गरेको छ । ‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो’, काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भनेका हुन ।

समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ । एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उनले जिकिर गरे ।

उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिए । उनले एमसीसीको सन्दर्भमा एमालेको पनि सकारात्मक दृष्टिकोण रहेकाले सो पार्टीलाई पनि काँग्रेसले धन्यवाद दिए ।

उनले एमसीसीबारे रहेका भ्रमहरु चिर्ने काम भएको भन्दै बाँकी कुनै भ्रम अझै छ भने भने त्यसलाई चिर्न पार्टी लागिपर्ने पनि बताए । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेसले एकै समयमा पत्रकार सम्मेलन गरी एमसीसी बारेमा स्पष्ट पार्ने प्रयास गरेका हुन ।