अमेरिकी विदेशमन्त्रीको प्रधानमन्त्री देउवालाई फोन : विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गरौं


काठमाडौं, फागुन १८। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन्। प्रधानमन्त्री देउवासँग आफूले युक्रेनमाथि रुसले गरिरहेको आक्रमणबारे कुराकानी गरेको विदेश मन्त्री ब्लिनकनले ट्वीटरमा लखेका छन्।

‘रुसले युक्रेनमाथि विनाकारण गरेको आक्रमण, युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग राम्रो कुराकानी भयो।’ ब्लिनकनले लखेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गर्ने क्रम जारी राख्नेछौँ।’ संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ।

यसअघि नेपालले युक्रेनमाथि रुसी आक्रमण रोक्न आग्रह गर्दै विज्ञप्ति समेत निकालेको थियो। अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता संसदबाट पारित भएपछि अमेरिकी उच्च अधिकारीले नेपाल सकारका प्रमुखसँग पहिलो पटक संवाद गरेका हुन्। गत आइतबार नेपालको प्रतिनिधि सभामा बहुमतले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गरेको थियो।