रुसी फौजले युक्रेनको राजधानी किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला


काठमाडौं, फागुन १८। युक्रेनको राजधानीमा आक्रमण केन्द्रीत गरेको रुसी फौजले किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ । आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन् । यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि बमबारी गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । किभमै एउटा सर्वसाधारण घरमा पनि रुसी सेनाले हानेको बम खसेको र घर धनीको मारिएको जनाइएको छ ।

राजधानी किभ कब्जामा लिने कोसिश गरिरहेको रुसी सेनाले युक्रेनी सेना र नागरिक लडाकुबाट कडा प्रतिरोधको सामना पनि गरिरहेको छ । रुसले सरकारी कार्यालयहरु नजिक घर भएका सर्वसाधारणलाई घर छाडेर जान भनेको छ भने लगातार खतराको संकेत स्वरुप साइरन पनि बजाउने गरेको छ । उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको मूख्य निशानामा आफू र राजधानी भएको भन्दै राजधानी किभलाई कुनै पनि हालतमा रुसको कब्जामा जान नदिने बताउनुभएको छ ।