अब प्रचण्डबाट सामाजिक रुपान्तरण सम्भव नभएको भन्दै सहकार्य गर्ने श्रेष्ठसंग विप्लवको प्रस्वाव


काठमाडौं, फागुन १८। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहकार्यको प्रस्ताव राखेका छन्। हरिसिद्धिस्थित श्रेष्ठ निवासमा बुधबार बिहान पुगेर महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्षबाट राष्ट्रियता र अबको राजनीति अगाडि बढ्न नसक्ने भएकाले एउटै मोर्चा बनाएर जाने प्रस्ताव गरेका हुन्।

राष्ट्रियताका पक्षमा लागेका साथीहरुबीच मोर्चा बनाउन विप्लवले प्रस्ताव राखेको श्रेष्ठ निकट नेताले बताएका छन् । ‘राष्ट्रियताको मुद्दा अगाडि बढाउन अब प्रचण्डजीबाट सम्भव छैन, प्रचण्डजीले सत्ताभन्दा अरु देखेकै छैनन्,’ विप्लवले श्रेष्ठलाई राखेको भनाई उधृत गर्दै ती नेताले भने, ‘यसरी पार्टी डिजल्भ हुन्छ, सकिन्छ, राष्ट्रियतामा लागेका साथीहरुसँग मोर्चाबन्दी गरेर जाऊँ।’

‘विप्लवजीले एउटै मोर्चा बनाएर जाने प्रस्ताव गर्नुभयो, के सम्भव हुन्छ, त्यही गरौं तर, माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले अब पार्टीलाई पछिल्लो परिस्थितिअनुसार हिँडाउन सक्तैनन् भन्नुभयो,’ श्रेष्ठको ब्रिफिङ सुनेका अर्का एक नेताले भने।

जवाफमा माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठले राष्ट्रियताको विषय पार्टी बैठकमा उठाउने बताएको ती नेताले जानकारी दिए । ‘अब बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रियता, एमसीसी लगायतका कुरा उठाउँछु,’ श्रेष्ठले विप्लवलाई जवाफ दिँदै भने, ‘राष्ट्रियताको विषयमा मेरो कसैसँग कम्प्रोमाइज हुँदैन, राष्ट्रियता मेरो प्रमुख हो त्यसपछि मात्र पार्टी र राजनीतिक दल हुन्छ ।’

विप्लव आँफैले सम्पर्क गरेर श्रेष्ठलाई भेट्ने खोजेका हुन् । महासचिव विप्लव आँफैले फोन गरेर वरिष्ठ नेता श्रेष्ठसँग भेट्न खोजेका हुन् । उनीहरुबीच ४० मिनेट कुरा भएको थियो।