बाँकेको नरभक्षी बाघ नियन्त्रणमा


बाँके जिल्लाको राष्ट्रिय निकुञ्ज आसपा िक्षेत्रमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएको छु । वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलका अनुसार राप्ती सोनारी गाउँपालिका– ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

कँडेलका अनुसार बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली,सेना, बाँके निकुञ्जको संयुक्त सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो ।

‘डार्ट गरी बेहोस बनाई बाघलाइ नियन्त्रणमा लिइएको हो,’ वन अधिकृत कँडेलले भने,‘ नियन्त्रणमा लिइएको बाघलाई बाँके निकुञ्जको होल्डिङ सेल्टरमा राखिने छ।’

पछिल्लो केही महिनादेखि राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ र ६ मा बाघले पटक–पटक आक्रमण गरेको थियो । गत भदौ अन्तिम साता यता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।