आज बिहानदेखि वीरेन्द्रनगरको निषेधाज्ञा पूर्ण रुपमा हट्यो


काठमाडौं, फागुन १९।  सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि पूर्ण रुपमा हटेको छ। एमसिसीको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह उग्र बनेपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लगाएको थियो।

मंगलबार दिउँसो स्थिति सामान्य बनेपछि कर्फ्यू हटाएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो। मंगलबार दिउँसोदेखि लागु हुनेगरी वीरेन्द्रनगर बजार क्षेत्र, यरीचोक, मंगलगढी चोक, हटियालाईन, हटियाचोक क्षेत्रमा पाँच जना भन्दा धेरै मानिस जमघट हुन नपाउनेगरी निषेधाज्ञा लगाईएको थियो। बिहीबार बेलुका सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाल जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य अवस्थामा आईसकेकोले बिहिबार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाईएको जानकारी गराएको हो। अन्यत्र शान्तिपूर्ण बनेको एमसिसीको विरोध सुर्खेतमा किन उग्र बन्यो?

संसदबाट पारित भईसकेको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को विरोधमा सोमबार आव्हान विरोध प्रदर्शनमा सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बन्यो।दिनभर अवस्था सामान्य भए पनि बेलुकीपख प्रदर्शनकारीले भौतिक रूपमै क्षति पुर्‍याउन थाले।प्रदर्शमा सहभागी भएको एक समूह बेलुकापख उग्र बनेपछि जिल्ला सुरक्षा समितिले वीरेन्द्रनगर उपत्यकामा कर्फ्यूनै जारी गर्नुपर्‍यो। सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लगाईएपछि अवस्था सामान्य बन्यो। त्यसपछि भोलिपल्ट दिउँसोदेखि कर्फ्यू हटाएर निषेधाज्ञा जारी भएको थियो।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई वटा मोर्चाले आह्वान गरेको विरोध प्रदर्शन देशभर चलेको थियो। प्रदर्शनका क्रममा भौतिक रुपमा क्षति पुगेको भने सुर्खेतमा मात्र हो।सुर्खेतमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमासमेत आक्रमण गरिएको छ । प्रदर्शनकारीले ढुंगामुढा गर्दा नेपाली कांग्रेसको पार्टी कार्यालयका दुई वटा झ्यालका सिसा फुटेका छन्। यस्तै सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयको डिजिटल बोर्ट फुटेको छ।

नेकपा माओवादी केन्द्रको कार्यालयमा ढुंगामुढा गरिए पनि क्षति भने नपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।एमाले पार्टी कार्यालयमा उक्त समूहले आगो नै लगाउने प्रयास गरेको थियो। कार्यालयको ग्यालरीमा केही वस्तु जम्मा गरेर प्रदर्शनकारीले आगो बालेका थिए। लगत्तै प्रहरी पुगेपछि थप क्षति भने हुन पाएन।एमाले पार्टी कार्यालयमा प्रहरी पुगेपछि ढुंगामुढा हुँदा दुई जना घाईते भए। एक जनाको काठमाडौंमा उपचार भईरहेको छ भने एक जनाको सुर्खेतमै उपचार भईरहेको छ ।

पार्टी कार्यालयमा कुनै क्षति नभएको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले बताए।यस्तै प्रदर्शनकारीले मुख्य चोकमा राखिएका दुई वटा प्रहरी बीटमा क्षति पुर्‍याएका छन्। मंगलगढी र यरीचोकमा राखिएका प्रहरी बीटमा उनीहरुले आगो लगाईदिएका हुन्। अन्यत्र शान्तिपूर्ण बनेको प्रदर्शन सुर्खेतमा मात्र किन उग्र बन्यो त? यसको एकिन जवाफ भने छैन। तर प्रदर्शनको नेतृत्व गरेका राजनीतिक दलहरुले भने भौतिक क्षतिको विषयमा आफूहरु जिम्मेवार नभएको बताएका छन्।जिल्ला प्रशासन कार्यालयले सर्वदलीय वैठक समेत राखेको थियो।

‘हामीले बोलाएको सर्वदलीय बैठकमा सहभागी प्रदर्शनको नेतृत्व गर्नुभएका दलका नेताहरुले हामीबाट भौतिक सम्पत्तिमा आक्रमण गर्ने काम भएको होईन बाहिरबाट हो भन्नुभएको छ,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘केही मानिस पक्राउ परेको छन्, तर उनीहरु को हुन् भन्ने पहिचान भईसकेको छैन।’पक्राउ परेकाहरुमध्ये छानविन गरी प्रमाणका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने प्रजिअ रिजालले बताए। ‘हामीसँग फोटो र भिडियोहरु छ, त्यसलाई हेरेर प्रमाण बनाउँछौं,’ उनले भने।

सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेकाहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिए।‘हामीसँग अहिले २० जना भन्दा बढी मानिसहरु नियन्त्रणमा हुनुहुन्छ, त्यसमध्ये तीन जना नबालक हुनुहुँदो रहेछ,’ एसपी विष्टले सेतोपाटीसँग भने, ‘नाबालकको हकमा के गर्ने भन्नेबारे छलफल गछौं, अरुलाई प्रमाणका आधारमा सार्वजनिक मुद्दा दर्ता गरेका छौं।’

रिजालका अनुसार विरोधमा सहभागी दलहरुले सुर्खेतमा गरिएको कार्यक्रम साढे चार बजे नै कोणसभा गरी समापन गरिएको बताएका छन्। एक समूह उग्र बनेर पार्टी कार्यालय, प्रहरी बीट र प्रहरीमाथि आक्रमण गरेको भने ६ बजेपछि हो।सोमबारको प्रदर्शनका क्रममा केहीप्रहरी समेत घाईते भएका छन् । घाईतेमध्ये १२ जनालाई सामान्यको सामान्य उपचार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।