विप्लवसँग भेटेपछि भीम रावलले भने- देशभक्तहरू एक हुनु राम्रो


काठमाडौं, फागुन २०। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटेपछि नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरू एक हुने कुरा उचित भएको प्रतिक्रिया दिएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत विप्लवले राष्ट्रिय स्वाधिनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन आग्रह गरेको उनले बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्– ‘आज नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो, देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’ बिहीबार विहान विप्लव र नेता विश्वकर्मा रावललाई भेट्न उनको निवास टोखा पुगेका थिए । एमसिसीको विपक्षमा रहेकासँग मोर्चाबन्दी गर्न विप्लवले सक्रियता देखाएका छन् ।