ललितपुरका पर्यटकिय परिसरमा धूम्रपान निषेध


ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । आज महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाका कारण सफल हुन नसकेको बताउनुभयो । उहाँले आजदेखि लागू हुने गरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धूम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताउनुभयो । जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

मेयर महर्जनले भन्नुभयो, ‘स्मोकिङ किल्स भन्ने भनाइ शतप्रतिशत ठिक छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ ।’

मेयर महर्जनले सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दाबी गर्दै महानगरपालिकाले भने लापर्बाही नगरि कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाउनुभयो ।
यस अघि पनि सरकारले मुलुकका सबै सार्वजनिक क्षेत्रमा धु्रमपान निषेघ गर्ने निर्णय गरेको थियो । केही दिन अभियान कार्यान्वयन गर्न स्थानीय प्रहरी, नागरिक र विभिन्न संघसंस्थाको सक्रियता भएपनि पछि विस्तारै कार्यान्वयनमा आउन नसकेको हो ।