पदाधिकारी चयनबारे छलफल गर्न माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं, फागुन २२। पदाधिकारी चयन गर्नका लागि आज (आईतबार) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कमिटी बैठक बस्दै छ । शुक्रबार बसेको माओवादी केन्द्रको बैठकले एमसीसी लगायतका बिषयमा छलफल गरेको थियो । एमसीसीकै कारण पार्टीमा सिर्जित विमत्तिका बारे हल गर्ने प्रयास शुक्रबारको बैठकले गरेको थियो ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा छलफल गर्ने जनाइएको छ । माओवादी केन्द्रले गएको् पुस १८ गते आफ्नो आठौँ महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । जबकी २९९ केन्द्रीय सदस्य चयन गरिनु पर्ने व्यवस्था छ ।

त्यस्तै पुस १९ गतेको बसेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो। त्यसयता माओवादीले बाँकी पदाधिकारी चयन गर्न सकेको छैन । जसका कारण पार्टी पदाधिकारीले पूर्णता पाउन सकिरहेको छैन । माओवादी केन्द्रमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन हुन बाँकी नै छन्।