माओवादीमा भित्र लफडा भएपछि केन्द्रीय समिति बैठक स्थगित


नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित भई फेरी भोली बस्ने भनिएको छ । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको माओवादी सचिवालयले जनाएको छ ।

आजै बिहान ११ बजे राष्ट्रियसभामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थाननै परिवर्तन गरेर तय गरिएकामा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको हो ।

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । सो क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको श्रेष्ठले आलोचना गरेका थिए भने प्रचण्डले बचाउ गरेका थिए ।

आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ ।

तर, पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको बताइएको छ । पदाधिकारीमा त्यसमा पनि महासचिवमा माओवादीभित्र हानथाप छ । तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ ।

माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतको दाबेदारी छ । माओवादीको सम्पन्न महाधिवेशनबाट अध्यक्षमात्र चयन गरेपछि पदाधिकारी अझै चयन हुन सकेको छैनन ।