संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने नेपालको धारणा


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन ।

संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन् । संसद्‌मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, उनले भने, त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।

एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ । एमालेबाट निरन्तर ससद अवरोधका कारण महत्वपूर्ण ऐन कानूनहरु निर्माणमा ढिलाई भएको छ । जसको प्रत्यक्ष प्रभाव संविधान जारी भएपछिको संघीयता कार्यान्वयनमा समेत समस्या देखा पनै थालेको छ ।