दमौलीको आगलागी चार घन्टापछि नियन्त्रणमा


तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घन्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घन्टाको प्रयासपछि ठूलो प्रयासले नियन्त्रणमा आएको हो।

आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको यकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। उनले क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेकाले केही समय लाग्ने बताए ।

आगलागीबाट चार–पाँच घरमा क्षति पुगेको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकोप्टरले आगो निभाउन सहयोग पुगेको थियो। साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो। पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो।

सिम्रिक एयरको हेलिकोप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्‍याएको थियो। हेलिकोप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ। आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण इ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए।
अव्यवस्थित रुपमा सहरी करण भएकै कारण प्राकृतिक विपतमा समस्या हुने गरेको छ ।