पेस्तोल र लागु औषधसहित बाँकेबाट तीन युवा पक्राउ


काठमाडौं, फागुन २३। पेस्तोल र ब्राउन सुगरसहित तीन जना युवालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका प्रमुख प्रहरी नायब निरीक्षक रवीन्द्र बमको नेतृत्वमा खटिएको टोलीले आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको हो।

उनीहरूलाई खजुरा गाउँपालिका वडा नम्बर १ स्थित रवीन्द्र थापाको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सेतो प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोलसहित सोही घरका २५ वर्षीय रवीन्द्र थापा, खजुरा २ का २७ वर्षका मनिष थापा र नेपालजञ्ज १३ का २८ वर्षका सुरेश रोकालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई ब्राउन सुगर सेवन गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।