निसासिएर ५ जनाको ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष


ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका छन् । दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको छ ।

बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा गएर फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा गएका ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलकाअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ ।

मृत्युको यकिन कारण खुल्न बाँकी रहेको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले भने–‘झ्याल, ढोका बन्द गरेर सुतेको र आगो बालेको हुनाले निसास्सिएको हुनसक्ने आशंका गरेका छौं, थप अनुसन्धान हुँदै छ ।’

सुस्मा स्याङतान २३ वर्षीयाले दुई दिनअघि बच्चा जन्माएकी थिइन् । बच्चालाई न्यानोमा राख्न उनीहरुको कोठामा आगो बालेर सुतेको भेटिएको छ । दुई वर्षीय शिशु र अरु ५ जना एउटै कोठामा सुतेका थिए । पाटन अस्पतालमा उपचार गराइरहेका शुभ स्याङतान दुई दिनअघि जन्मिएका शिशुको बुवा हुन् ।

सुतिरहेको अवस्थामा मृत फेला पर्नेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षका आशिष स्याङतान, २३ वर्षीया सुस्मा स्याङतान, ७ वर्षकी आस्मा स्याङतान छिन् । प्लाष्टर गरेको र जस्ताको छानो भएको एकतले घरमा उनीहरु मृत भेटिएका हुन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार घरभित्र हावा छिर्ने र बाहिर निस्कने भेन्टिलेसन थिएन ।