नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एक जनाको ज्यान गयाे


काठमाडौं, फागुन २४। काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ ।

गम्भीर घाइते चार जनाको मनमोहन मेमाेरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । यसअघि हिजो ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए । कोइला बालेर सुतेका उनीहरुको निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।