चाँगुनारायणमा टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला


काठमाडौं, फागुन २४। धारिलो हतियारले घाँटी काटेर परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नं ७ स्थित बागरेमा टहराभित्र उक्त शव फेला परेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तरकारी खेती गरिँदै आएको जग्गामा रहेको एक टहराभित्र अन्दाजी ३५–४० वर्षीया महिलाको शव फेला परेको हो ।

महिलाको पहिचान हुन सकेको छैन । शव परालले छोपेर राखिएको घाँटी अगाडि भागमा गहिरो चोट लागेको अवस्थामा फेला परेको हो । उक्त खबर पाएसँगै गएराति पौने १० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको एसपी शिव कुमार श्रेष्ठको टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि दुवाकोटमा रहेको केएमसी अस्पताल पठाएको छ । घटनाबारे सुक्ष्म रुपले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।