काठमाण्डौ–तराई द्रुतमार्ग : सुरूङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन


काठमाडौं, फागुन २५। राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा उच्च प्राथमिकतामा रहेको काठमाण्डौ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन भएको छ । आयोजना नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ । प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको स्थलगत निरीक्षण गर्दै गुणस्तर र समयसीमाको पनि ख्याल राख्न निर्देशन दिनुभयो ।

उहाँहरूले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरा शिविर र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिनुभएको हो । निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न उहाँहरूले ठेकेदार, परामर्शदाता र परियोजना पदाधिकारीलाई निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति र सचिवले परियोजना गुणस्तर निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा अन्तर्राष्ट्रिय परामर्शदातालाई समेत विशेष निर्देशन दिनुभयो । आर्थिक वर्ष २०७४/७५ मा सुुरु भएको द्रुतमार्ग आयोजना विसं २०८१ को पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाण्डौ, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने यो द्रुतमार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर दूरीको छ ।

महादेवडाँडा, धेद्रे र लेनडाँडामा झण्डै ६ दशमलव ३१ किलोमिटर दोहोरो सुरुङ रहने द्रुतमार्गमा ठूला र साना गरी ८७ वटा पुल रहनेछन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर र सडकखण्ड ५५ दशमलव ५ किलोमिटर रहनेछ । आयोजनाको कूल लागत एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार अनुमान गरिएको छ । आयोजनाको पछिल्लो वित्तीय प्रगति १५ प्रतिशत र भौतिक प्रगति १६ प्रतिशतको हाराहारीमा छ । आयोजनाका लागि अहिलेसम्म झण्डै २६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।