१४ जनाको बस दुर्घटनामा मृत्यु


संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको प्रहरीले जनाएको छ । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । ‘१४ जनाको शव भेटिएको र ५ जना घाइते भएको सुवेदीले बताए । अहिलेसम्म मृतकको सनाखत भने भएको छैन ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको पुष्टि गरेका छन् । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको प्रहरीले बताएका छन् ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।