घाइतेको उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाने


गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको गृहमन्त्रालयले जनाएको हो ।

उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिइएको छ ।

नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले छिट्टै उद्दार गर्न सम्र्पूण शक्ति परिचालन गरिएको बताएका छन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । गम्भीर घाइते ५ जनालाई चैनपुरबाट हेलिकोप्टरमा धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटरको दुरी पर्दछ ।